काठमाडौं । तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बिहीवार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा लगियो ।“पहिला आइसोलेसनमा शैया छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिएँ । बुधबार साँझ यहाँ ल्याइएको छ,” उनले भने ।
ती पुरुषसँगै भानु–६ मा एकैदिन २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच दिन पुग्दासमेत पाँच जना सङ्क्रमित अझै घरमा बसिरहेका छन् । ती १७ जना सङ्क्रमितलाई बिहीबार दिउँसोसम्म आइसोलेसनमा पुर्याइएको छ । तीमध्ये १५ जनालाई जिपी कोइराला सो केन्द्रको आइसोलेसनमा र दुई जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । बाँकी तीन जनालाई पनि छिट्टै आइसोलेसनमा ल्याउने उनले बताए । “दुई जना सङ्क्रमितलाई घरमै बस्न उपयुक्त छ । उनीहरुलाई होम आईसोलेसनमै राख्छौ,” उनले भने ।
पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिँदा परिवारका सदस्यलाई पनि सङ्क्रमण भएको घटना सार्वजनिक भइरहेको छ । आइसोलेसनमा लैजाने भएपछि सङ्क्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भीर लापरवाही हो । “आइसोलेसन भरिभराउ भएकाले लैजान ढिलाई भएका हो । सरकारले गरेको निर्णयमा पनि घरमै आइसोलेसनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको होइन,” उनले भने । नगरप्रमुख गौलीले सङ्क्रमितकै सहमतिमा घरमा राखिएको दावी गरे। उनले भने, “अस्पताल ल्याएर पनि औषधि गर्ने त केही पनि होइन, ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।”
कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह लागिपरेको ६ महिना हुँदा समेत पर्याप्त आइसोलेसन छैन । पालिकामै आइसोलेसन बनाएर राख्दा सङ्क्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आइसोलेसन नबनाएको उनले जानकारी दिए ।
वडा कार्यालय बन्द
तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी सहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
सङ्क्रमितमध्ये दुई स्वास्थ्यकर्मी कोटा स्वास्थ्यचौकीमा कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए । ती स्वास्थ्यकर्मीमध्ये एक महिला र एक पुरुष हुन् । उनीहरु दुवै भरतपुर निवासी रहेको र भरतपुरकै आइसोलेशनमा राखिएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।
बाँकी पाँच जना भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् । पाँच जना नै देवघाट गाउँपालिका–५ निवासी रहेको बुढाथोकीले जानकारी दिए । उनीहरु सबैलाई होम आइसोलेसनमै राखिनेछ । गाउँपालिकाले १४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।
यसैबीच सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि देवघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालय तथा वडा नं १ र ५ को कार्यालय बन्द रहने भएको छ । भदौ १९ गते शुक्रबारदेखि भदौ २४ गतेसम्मका लागि गाउँपालिका, वडा नं १ र ५ का वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।
समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र अत्यावश्यक काममा हिँडडुल गर्दा मास्क लगाउन आग्रह गरिएको छ । हाल चलिरहेको पितृपुजन ९सोह्र श्राद्ध० कार्यमा आफन्त, छरछिमेकी, बन्धुबान्धवलाई आमन्त्रण नगरी एकाघरका सदस्यमात्र सहभागी हुन, सकेसम्म पुरोहितलाई घर नबोलाई विद्युतीय तरिकाले तथा अन्य वैकल्पिक माध्यमबाट सोह्र श्राद्ध गर्न गाउँपालिकाले जनाएको छ । –
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया