मनाङ । मनाङमा मङ्गलवार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।
स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको गिरीले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको जनाएको छ ।
“मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ”, मेडिकल अधिकृत अधिकारीले भने । उनका अनुसार दुबै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा संक्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये आज दुई जनामा संक्रमण पुष्टि भएको हो ।
मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब सङ्कलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए।
त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया