सडक छेउमा रोकिएको एम्बुलेन्सबाट ५ जना पोकोपन्तुरोसहित ओर्लिन्छन् । एम्बुलेन्स चालक र ती व्यक्तिबीच सडक छेउमै विवाद सुरु हुन्छ । ५ सय रुपैयाँ थपिदिनुस् भन्ने चालकको आग्रहलाई उनीहरूले बेवास्ता गरेपछि चर्काचर्की अझ बढ्दै जान्छ ।
गत शनिबार साँझ नयाँ बानेश्वरमा देखिएको यो प्रतिनिधि दृश्य हो, जसले बुझाउँछ एम्बुलेन्सको दुरुपयोग कसरी बढिरहेको छ ।
राजधानीमा कोरोना संक्रमण बढ्दै गएपछि बाहिरबाट आउने सवारीमा कडाइ गरिए पनि कतिपय एम्बुलेन्सले बिरामी होइन, यात्रु ओसारिरहेका छन् । नागढुंगा, मुड्खु र भक्तपुरको जगाती नाकाबाट उपत्यका छिरेका एम्बुलेन्सको तथ्यांकलाई केलाउँदा यस्तो दुरुपयोगका उदाहरण धेरै फेला पर्छन् ।
लकडाउन र सवारी पासमा कडाइ गरिएका बेला उपत्यका छिर्ने एम्बुलेन्सको संख्या ह्वात्तै बढ्ने र प्रशासनले कडाइ नगरेका बेला त्यो संख्यामा उल्लेख्य कमी हुने गरेको देखिन्छ ।
लकडाउन अवधिमा चैतअघिका महिनाभन्दा दोब्बर बढी एम्बुलेन्स उपत्यका छिरेको तथ्यांकले देखाउँछ । साउन ७ मा लकडाउन अन्त्य भएर सवारी आवागमन मात्रै नियन्त्रण गरिएको समयमा भने राजधानी छिर्ने एम्बुलेन्सको संख्या निकै घटेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया