दुई जना प्रहरीमा कोरोना पुष्टि : एसएसपीसहित ३७५ जना प्रहरी क्वारेन्टाईनमा, ‘बग्गीखाना’ सील

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जना प्रहरीलाई क्वारेन्टाईनमा राखिएको छ । संक्रमितहरुलाई अस्पताल लगिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार सेवाग्राहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्न निषेध गरिएको छ।

उनले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण सिल छ ।’ अहिले महाशाखासँग पछिल्लो समय सम्पर्कमा आएकाहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्ने कार्य भईरहेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) लगायत अत्याधिक भिडभाड हुने र घना बस्ती भएका शहरहरुमा ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ ।

हालसम्म २ सय ५० जना भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?