काठमाडौं – चिकित्सकहरुले ‘कोभिड – १९’ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् ।
सरकारले ‘कोभिड-१९’ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म ‘कोभिड १९’ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए ।
कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिन भित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए ।
इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने भताएका छन् । उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा. बास्तोलाले जोड दिए ।
सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरु देखिएका छन् । तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन । जसले गर्दा संक्रमण समुदाय स्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले हालसम्म मास्कको प्रयोग नगर्ने २ लाख जनालाई कारवाहि गरिएको, भारतबाट ६५९ जना नेपाल भित्रिएको र नेपालबाट ५०६ जना नेपालबाट भारत गएको, छिमेकी मुलुकमा संक्रमणको दर उच्च रुपमा बढीरहेको , नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतका उत्तराञ्चल, उत्तर प्रदेश, बिहार र वेस्ट बंगालमा संक्रमितको दर बढ्नु र आवतजावत नरोकिनु, विरगञ्जमा चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिनु (त्यहाँ स्वास्थ्य सावधानीका मापदण्ड अपनाएको नपाईनु) सिरहामा भएको आमसभा, काठमाडौमा भएका सभा, आन्दोलन, भिडभाड, घना बस्ती भएका शहरहरुमा निष्फिक्री घुमिरहेका मानिसहरुको समूह, भारतबाट कामदार ल्याई नेपालमा जाँच गर्दा कोरोना पोजेटिभ पाईएको, समूहमा हिँड्ने जस्ता कारण यहि अवस्था रहँदा संक्रमणको दर उच्च रहने र संक्रमितको लागि अस्पतालको बेड र सघन उपचार कक्ष समेत नपाउने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै चेतावनी दिएको छ ।
जोखिम बढीरहेको कारण अत्यावश्यक कामबाहेक बाहिर नजान
अनिवार्य मास्कको प्रयोग गर्न
समयसमयमा साबुनपानीले हात धुन
सेनिटाईजर प्रयोग गर्न
भौतिक दूरी कायम गर्न
एक जिल्लाबाट अर्को जिल्लामा नजान
सेनिटाईजरको प्रयोग गर्न समेत सचेत गराएको छ ।
एकातिर करिब ४ महिना लामो लकडाउन एकाध सेवाबाहेक खुल्ला हुनु, संक्रमितको संख्या देशभर बढ्दै जानु, काठमाडौं उपत्यकाका तिनै जिल्ला काठमाडौं भक्तपुर, ललितपुर, र घना बस्ती भएका शहरहरुमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै जानु, मानिसहरु ओहोरदोहोर हुने नाकामा गरिएका परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आउनु, समूहमा सेवा दिईरहेका स्थानका प्रहरी, चिकित्सक लगायतमा संक्रमण पुष्टि हुनु शहरमा खुलेआम सभा हुनु, आन्दोलनमा मानिसहरु संलग्न हुनु, भिडभाड बढ्नु, सुरक्षा सतर्कता बिना नै मानिसहरु बजारमा निस्कनु, किनमेल गर्ने स्थानमा हुलमुल हुनु जस्ता कारण कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् । यस सन्दर्भलाई लिएर जनस्वास्थ्यविद् रविन्द्र पाण्डेयले केहि सुझाव सेयर गरेका छन् उनको सुझाव यहाँ प्रस्तुत गरिन्छ ।
‘कोरोना संक्रमणबाट बच्न यी १० मन्त्रलाई आफ्नो जीवनशैली बनाउनुहोला’
१. जनस्वास्थ्यका मापदण्ड अपनाउने : महामारीको समयमा सकभर घरमै बस्ने, घरबाट काम गर्ने, घर बाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, बाटोमा, चोकमा र कार्यस्थलमा न्यूनतम ६ फीटको व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, नाकमुख तथा आँखा छुने बानी त्याग्ने, भीडभाडमा नजाने, झ्यालढोका खुला भएको ठाउँमा बस्ने लगायतका सुरक्षित व्यवहारलाई जीवनशैलीको रुपमा अवलम्बन गर्नु जरुरी छ ।
२. तन्दुरुस्त रहने : शारीरिक व्यायाम, पोषिलो खाना, पर्याप्त निद्रा, घामताप्ने बानी, योग, ध्यान तथा तनावलाई व्यवस्थापन गर्ने अन्य कौशलताले हामीलाई तन्दुरुस्त बनाउँछ । रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, कागती, मह, मरिच, लसुन, प्याज, दालचिनी, तुलसी, भिटामिन सी, जिंक, भिटामिन डी आदिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
३. जोखिमबाट टाढा रहने : अस्पताल, बजारमा हुने भीडभाड, सार्वजनिक यातायात, शपिङ मल, डिपार्टमेन्टल स्टोर, कर तिर्ने ठाउँ, विभिन्न महशुल बुझाउने ठाउँ, बैंक, गल्ली आदि ठाउँमा नजाने । जानुपर्यो भने छोटो समयको लागि सुरक्षा सतर्कता अपनाएर जाने ।
४. स्वास्थ्य अवस्था थाहा पाउने : ब्लडप्रेसर, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोल ९लिपिड प्रोफाइल०, थाइराइडको अवस्था (टीएफटी), मिर्गौलाको अवस्था (आरएफटी), कलेजोको अवस्था ९एलएफटी०, पेटको भिडियो एक्सरे, छातीको एक्स रे, ईसीजी, पिसाबको जाँच, पुरुषले प्रोस्टेट ग्ल्यांड तथा महिलाले पाठेघरको अवस्था, भिटामिन डी, क्याल्सियम, भिटामिन बी १२, हेमोग्लोबिन आदिको अवस्था तथा समस्या देखिएमा अन्य आवश्यक परीक्षण गर्ने । रिपोर्ट अनुसार चिकित्सकको सल्लाहमा समस्याको उपचार गर्ने । महामारीसँग लड्नको लागि स्वास्थ्य अवस्था राम्रो बनाउनु जरुरी हुन्छ ।
५. कुलतको त्याग : रक्सी, चुरोट, सुर्ती, गुट्खा, लागूपदार्थ, इन्टरनेट एडिक्सन आदि भएमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । शरीरलाई ध्वस्त बनाउने यी अम्मल तत्काल छोड्नु जरुरी छ । खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो ।
६. विश्वसनिय मिडिया मात्रै र्हेन पढ्ने, प्रयोग गर्ने : मृत्यु भएका, शव गाडेका लगायत कोरोनाबारे सनसनीपूर्ण समाचार हेर्नु हुँदैन । नेपाल सरकार, डब्ल्यूएचओ, सीडीसी, एफडीए, युनिसेफ लगायतका आधिकारिक सूचना तथा स्वास्थ्यकर्मीको सल्लाह मात्र विश्वास गर्ने, प्रतिष्ठित तथा विश्वासिला रेडियो, टेलिभिजन, पत्रिका र १( २ अनलाइन पोर्टल दिनको बढीमा २ पटक मात्र हेर्ने बानीको विकास गर्यौं भने तनाब घट्दछ । भ्रम र हल्लाको पछि लागेर आफूलाई यातना दिने काम गर्नु हुँदैन ।
७.मानसिक स्वास्थ्य बलियो बनाउने : योग तथा ध्यान गर्ने, मोटिभेसनल स्पीच सुन्ने, कमेडी फ्लिम हेर्ने, घर तथा करेसाबारीमा काम गर्ने, पढ्ने, लेख्ने, आर्ट गर्ने, सकारात्मक सोंच भएका साथीसँग फोनमा कुरा गर्ने, कुनै व्यवसायले तनाव दिएको भए त्यो व्यवसाय सल्टाएर अर्को व्यवसाय शुरू गर्ने, आर्थिक जोखिमका काम तथा लगानी नगर्ने, आत्मबल र आत्मविश्वास बढाउने तथा यो समस्या संसारकै समस्या हो भनेर आत्मसात गर्ने एवं हरेक रातपछि सुनौलो बिहानी आउने तथ्य बुझ्नु जरुरी छ ।
८. रिपोर्ट नर्मलमा राख्ने : दीर्घ बिरामीले जोखिमबाट बच्नको लागि नियमित औषधि सेवन गरेर आफ्ना रिपोर्ट नर्मलमा राख्यौं भने अन्य व्यक्तिसरह संक्रमणसँग लड्न सकिन्छ । त्यस्तै ज्येष्ठ नागरिकले आफूलाई युवा ठानेर सक्रिय जीवन बिताएमा रोगसँग जित्ने स्टामिना प्राप्त हुन्छ ।
९. धैर्यता : खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो । युवा तथा निरोगीले काम गर्ने, जोखिम वर्ग घरमै बस्ने अनि जोखिम वर्गलाई घरभित्र पनि आइसोलेसनको वातावरण प्रबन्ध गर्ने हो भने संक्रमणबाट हुने जोखिमलाई न्यून गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई बचाउनु हामी सबैको पहिलो कर्तव्य हो ।
१०. सजगता अपनाउने : ‘कोभिड – १९’ को कारणभन्दा अन्य रोगले मृत्युको संख्या बढिरहेको छ । तसर्थ आफ्ना बालबालिकालाई खोप लगाउने, पोषणमा ध्यान दिने, मानसिक रुपमा सपोर्ट गर्ने, औषधिसेवीलाई नियमित औषधि उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई नियमित परीक्षण, पोषण, आराम र सुरक्षाको प्रत्याभूति गर्ने एवं समाजमा सहयोगी तथा सकारात्मक वातावरण निर्माण गर्न हामी सबैको दायित्व हो ।
pic :google
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया