राजकुमार पराजुली / काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टाइनमा बसाउने भएको छ । गाउँपालिकाले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेपछि गाउँपालिकाले जिल्ला बाहिर गएका आफ्ना शिक्षकलाई साउन २० गतेभित्र गाउँपालिका आइपुग्न आग्रहसमेत गरेको हो । “होम क्वारेन्टाइन बसाइपछि स्वास्थ्य परीक्षण गरेर मात्र शिक्षकलाई विद्यालय पठाइनेछ”, गाउँपालिका अध्यक्ष सलामसिं तामाङले भने । उनका अनुसार अगामी भदौ १ गतेबाट कारोना भाइरस सङ्क्रमणरहित शिक्षकले विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण तथा अन्य कार्य क्रमैसँग सञ्चालन गरिनेछ । साथै गाउँपालिकाले विद्यालयमा व्यवस्थित गरिएको क्वारेन्टाइन सबै वडा कार्यालयको समन्वयमा अन्यत्र सार्ने योजना बनाइने जनाएको छ ।
सरकारले गत बिहीबार आगामी भदौ १ गतेदेखि विद्यालयमा भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेपछि काभ्रेपलाञ्चोकका क्वारेन्टाइन व्यवस्थित गरिएका विद्यालय खाली गरिने भएको छ । बाँकी दुई हप्ताका अवधिमा विद्यालयबाट क्वारेन्टाइन सार्ने प्रक्रिया अबलम्बन गर्न एक÷दुई दिनमै छलफल गरिने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सरकारले विद्यालयबाट क्वारेन्टाइन हटाउन तथा अब विद्यालयलाई क्वारेन्टाइन नबनाउने निर्णय गरेपछि जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका सरोकारवालासँग केही दिनमै छलफल गरी सार्न थालिने बताउनुभयो । उनले भने, “एक÷दुई दिनमै छलफल गरी अन्यत्र व्यवस्थित गर्नेबारे निर्णय गर्नेछौँ ।”
हाल जिल्लास्थित १३ स्थानीय तहमा ८५१ श्याको क्वारेन्टिन व्यवस्थित गरिएको छ । क्वरेन्टिनमध्ये अधिकांश विद्यालयमा व्यवस्थित छन् । हाल तेस्रो मुलुकबाट फर्किएका ६० पुरुष र आठ महिला स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार ७७६ पुरुष र १५५ महिला क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट ३४० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ ।
यसैबीच २८ कारोना सङ्क्रमित काभ्रेलीमध्ये २७ ले कोरोना जितेर घर फर्किएका छन् । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले कोरोना सङ्क्रमित एकको आइसोलेसनमा उपचार भइरहेको बताए ।
उनका अनुसार आइसोलेसनमा उपचाररत रहेको व्यक्तिको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । सङ्क्रमित सबै विदेशबाट फर्केका जिल्लाका नागरिक रहेको जनाइएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया