ओलीसँग मिलेर जाने दाहालको संकेत

नेकपाको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको छ। अध्यक्ष पुष्पकमल दाहालले निकटका स्थायी कमिटी सदस्यहरूसँग सोमबार बिहान आफ्नै निवासमा छलफल गर्दै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने संकेत गरेका हुन्। प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद ओलीले छाड्नुपर्ने अडान राख्दै आएका दाहाल ओलीसँग मिलेर अघि बढ्ने पक्षमा पुगेपछि नेकपाभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद नयाँ चरणमा प्रवेश गरेको हो।

ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन वरिष्ठ नेता माधवकुमार नेपालसहित लागि परेका दाहाल एकाएक ओलीसँग मिलेर जाने संकेत गरेका हुन। वैचारिक रुपमा पूर्वएमालेहरु एक ठाउँमा उभिएको र आफूहरु पनि वैचारिक रुपमा एकै ठाउँमा हुनुपर्ने धारणा राख्दै दाहालले अहिलेको अवस्थामा ओलीसँग नजिक हुँदा बढी लाभ लिन सकिने संकेत गरेको भेलामा सहभागी एक नेताले बताए।

वरिष्ठ नेता नेपालले महाधिवेशन गर्ने हो भने जनताको बहुदलीय जनवाद (जबज) लाई बहसका लागि खुला गर्नुपर्ने धारणा आइतबार सार्वजनिक गरेका थिए। नेपालले आफू जबजको पक्षमा रहेको र महाधिवेशनअघि जबज खुला गर्नुपर्ने बताएपछि दाहालले पूर्वमाओवादीका नेतालाई आफ्नो निवासमा बोलाएर पूर्वएमालेहरु सैद्धान्तिक रुपमा एक भए आफूहरु पनि एक हुनुपर्ने धारणा राखेका थिए। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?