प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने प्रस्ताव ल्याए ।
झन्डै एक महिनादेखि ओलीको निःसर्त राजीनामा हुनुपर्ने अडान राख्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई ठाडै अस्वीकार गर्लान् भन्ने माधव नेपाललगायतका असन्तुष्ट नेताहरूको अनुमान थियो ।
तर जसै ओलीले महाधिवेशनको प्रस्ताव गरे, दाहालले समर्थन गरिदिए । शनिबार बालुवाटारमा ओलीलाई समर्थन गरेर निस्केका दाहाल साँझ शीतल निवासबाट खुमलटार पुगिसक्दा केही बदलिए । आइतबार बिहानसम्म त उनको पोजिसन पूरै उल्टियो ।
उनले नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूसँग ‘केपी ओलीसँग आफूले कुनै सहमति नगरेको’ भन्दै शनिबारको सचिवालय बैठकमा आफूले प्रदर्शन गरेको भूमिकाको स्पष्टीकरण दिए ।
शनिबार ओलीसँग नजिक देखिएका दाहालले आइतबारसम्म आइपुग्दा नेपाललगायतको समूहमै रहेको बताएपछि उनी दोधारे मनोविज्ञानमा रहेको देखिएको छ ।
ठीक यस्तै दृश्य यसअघि वैशाख तेस्रो साता देखिएको थियो । प्रधानमन्त्री ओलीले दल विभाजनलाई सहज हुने अध्यादेश ल्याएपछि चर्किएको नेकपाको विवादमा दाहालले वरिष्ठ नेता नेपाललगायतसँग मिलेर ओलीको आलोचना गरिरहेका थिए ।
त्यो बेलाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले सबै नेताहरू मिलेर जाऔं, आत्मालोचना गरौं भनेका थिए । कारण प्रस्ट थिएन, दाहालले त्यसबेला पनि अन्तिम घडीमा ओलीकै पक्ष लिए । अनि नेता नेपालले भनेका थिए, ‘दुई नेताको मात्र चोचोमोचो मिलाएर हुँदैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया