वन्यजन्तुको दुरुपयोग भए अझै धेरै महामारी आउँन सक्ने विज्ञको चेतावनी

काठमाडौं । जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन् ।

कोभिड-१९ जस्तो रोगको उदय हुनुमा उनीहरूले मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् ।

बेवास्ता नगर्न चेतावनी

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ । बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ ।

इबोला, वेस्ट नाइल फिभर, सार्स र अनि यो कोभिड-१९ सबै जुनोटिक वा जनावरबाट सरेका रोग हुन् । यी रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन् । जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको सो प्रतिवेदनले जनाएको छ ।

कोभिड-१९ को महामारीले आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको नोक्सानी पुर्‍याउने बताइएको छ ।

के भन्छन् विज्ञहरू ?

जनावरबाट मानिसमा रोग आफै सर्दैन । राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षयहुने मानवीय गतिविधिलाई कारक ठानेको छ ।

उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ ।

बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोनाभाइरसको महामारी देखेका छौँ, राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन् ।

गएको दुई दशकमा कोभिड-१९ भन्दा अगावै यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका थिए ।

न्यून तथा मध्यम आय भएका मुलुकहरूमा यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उनले बताइन् । उनले ती रोगमा एन्थ्र्याक्स, बोभाइन टुबरकुलोसिस तथा रेबिज समेत रहेको बताइन् ।

यी समुदायले जटिल विकास समस्या बेहोरिरहेका हुन्छन् र यिनको पशुमा धेरै निर्भरता र निकटता रहन्छ ।

गत ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेको उनले उदाहरण दिइन् ।

विज्ञानको सुझाव
हामीले कृषिलाई अत्यधिक सघन पारेका छौँ, पूर्वाधार विस्तार तथा स्रोतको दोहन गरिएको छ जसले वन्यजन्तुको वासस्थान अतिक्रमित भएका छन् ।

मानवजातिमा पाइने सङ्क्रामक रोगहरूको २५ प्रतिशत बाँध सिँचाइ तथा पशुकृषि उद्योगसँग जोडिएका छन् । यातायात तथा खानेकुराको आपूर्ति सञ्जालले सीमारेखा तथा दूरी मेटाइदिएका छन्। अनि जलवायु परिवर्तनले रोग निम्त्याउने हानिकारक किटाणु फैलन मद्दत पुगेको छ ।

सो प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे बताएको छ। तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी परेका छन् ।

विज्ञान प्रस्ट छस् यदि हामीले वन्यजन्तुको दुरुपयोग जारी राख्यौँ र पर्यावरण प्रणाली ध्वस्त पारिरह्यौँ भने आगामी वर्षहरूमा जनावरबाट मानिसमा सर्ने रोग निरन्तर बढ्नेछ, एन्डरसनले भनिन् ।

भविष्यमा हुने महामारी रोक्ने हो भने हामीले प्राकृतिक वातावरण संरक्षणमा निकै धेरै गम्भीर हुनुपर्छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?