सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छिन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन् । उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेसनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । दुई साता क्वारेन्टाइन बसाइका क्रममा गरिएको पीसीआर परीक्षणमा उनीमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो ।
करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेसन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया