‘गुहार माग्नेहरु कोरोना देखिएपछि बोल्न छाडे ’

शेरबहादुर सिंह / भीमदत्तनगर ।  कञ्चनपुरको लालझाडी गाउँपालिकाका कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी सङ्क्रमणको बाह्रौ दिन निको भएका छन् । त्यहाँ रहेका क्वारेन्टाइनमा खटिएका सो गाउँपालिका–२ कञ्जका ३२ बर्षीया उनीले होम क्वारेन्टाइनमै बसेर कोरोना जितेका हुन ।

“संक्रमण पुष्टि भएपछि घरमै बसेर तातोपानी, बेसार, अण्डा लगायतका बस्तुहरु उपभोग गरिरहेको थिए ।” उनले भने– “हिजो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।”

शंकरपुर स्वास्थ्य चौकीमा कार्यरत ल्याप असिष्टेन्ट पदमा कार्यरत श्वास्थ्यकर्मीले श्याम रानाले दोस्रो पटक पीसीआर विधिबाट कारोना परीक्षण गराउने बताए । “दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि काममा फर्किने योजनामा छु ।” उनले भन–“कोरोना समाज चिन्ने रोग रहेछ भन्ने अनुभव भयो ।”

उनले संक्रमण देखिँदा गाउँलेहरुको आफू र आफ्नो परिवारप्रति नै विभेदमा उत्रिएको दुखेसो पोखे । “अरुबेला गाउँमा सानो समस्या पर्दा गाउँलेहरु घरमा आएर गुहार माग्थे ।” उनले भने–“कोरोना लागेको थाहा पाएपछि मेरो परिवारसंँग बोल्न छाडे ।”

गाउँमा रहेको सार्वजनिक धारामा गाउँलेहरुले आफ्नो परिवारलाई पानी समेत लिन जान रोक लगाएको उनको गुनासो छ । “रोग भन्दा पनि समाजले गरेको विभेद बढी पीडादायी भयो ।” उनले भने–“फोनबाट हालखबर सोध्नसम्म मन गरेनन् ।”उहाँले होम क्वारेन्टाइनमा बसिरहँदा कुनैखालको लक्षण नदेखिएको बताए । “दुई दिनअघि म आफै एम्बुलेन्स लिएर परीक्षणका लागि धनगढी गएका थिए ।” उनले भने–“कोरोना जित्ने औषधी नै उच्च मनोबल रहेछ ।”

गाउँपालिकाका अन्य कोरोना संक्रमितहरुको पुनः कोरोना परीक्षण हुन सकेको छैन । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले कञ्चनपुरमा २०३ जना संक्रमित रहेको बताए । संक्रमित मध्ये पाँच जना स्वास्थ्यकर्मी रहेको उनको भनाइ छ । “पुर्नबासमा देखिएका दुई जना स्वास्थ्यकर्मीहरु अस्पतालबाट फर्किएर होम क्वारेन्टाइनमा छन ।” उहाँले भन्नुभयो–“ दुई जना बेदकोट नगरपालिकामा संक्रमित देखिएका स्वास्थ्यकर्मीको महाकाली अस्पतालमा उपचार हुदैछ ।” उनले सङ्क्रमितहरु सबैको अवस्था सामान्य रहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साझँसम्म सुदूरपश्चिममा एक हजार पाँच सय ३२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । “लक्षण नदेखिएका संक्रमितहरु होम क्वारेन्टाइनमा रहेपनि स्वास्थ्यकर्मीहरुसित समन्वयमै छन् ।” निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने–“लक्षण देखिए अस्पतालमा उपचार गराउने पछिल्लो योजना छ ।”

त्यसैगरी यहाँ १७६ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित मध्ये एक हजार २६४ पुरुष र २६८ महिला रहेका छन् । कोरोना परीक्षणको दायरा बढाउन नसक्नुले सुदूरपश्चिममा स्थानीय सङ्क्रमण देखिने सम्भावना बढी रहेको चिकित्सकहरुको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?