काठमाडौं भित्रिएकाहरुको तुरुन्त पीसीआर परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं प्रवेश गरेका व्यक्तिहरुले तुरून्त पीसीआर परीक्षण गर्न नपर्ने बताएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रवक्ता गौतमले बाहिरि जिल्लाबाट आउने मानिसहरूलाई पीसीआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह पनि गरेको छ ।

डा.गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनुबित्तिकै पीसीआर परीक्षण गर्न नपर्ने भन्दै १४ दिन होम-क्वारेन्टाइनमा बन्नुपर्ने बताए । साथै उनले १४ दिन होम-क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने बताए ।

प्रवक्ता गौतमका अनुसार गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?