दमौली । तनहुँको व्यास नगरपालिकास्थित व्यास गुफा क्षेत्रमा १०८ फिटको व्यासमूर्ति निर्माण गर्ने अभियानअन्तर्गत मुख्य प्रवेशद्वार निर्माण शुरु भएको छ । व्यासमूर्तिको गुरुयोजनानुसार व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले मुख्य प्रवेशद्वार निर्माणको काम शुरु गरेको हो ।
गण्डकी प्रदेश सरकारले रु दश लाख बजेट विनियोजन गरेकाले त्यसबाट प्रवेशद्वारको काम थालिएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमै उक्त बजेट खर्च गर्नुपर्ने भएका कारण बन्दाबन्दीकै बीचमा पनि प्रवेशद्वार निर्माण शुरु गरिएको श्रेष्ठले जानकारी दिए । प्रवेशद्वार निर्माणअन्तर्गत फाउण्डेशनको काम सकिएको छ ।
“आर्थिक वर्षको अन्त्यतिर प्रदेश सरकारबाट बजेट आएपछि मूर्ति निर्माण अभियानअन्तर्गत मुख्य प्रवेशद्वार निर्माण शुरु गरेका हौँ, उक्त बजेटबाट प्रवेशद्वारको सबै काम सम्पन्न हुन सक्दैन”, श्रेष्ठले भने, “प्रवेशद्वार निर्माणका लागि करीव २५ लाख रुपैयाँ बजेट आवश्यक पर्छ ।”
मूर्ति निर्माण अभियानका लागि सङ्घीय सरकारले पनि आगामी वर्षको बजेटमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । व्यासमूर्ति निर्माण गर्ने उद्देश्यले केही समय अगाडि आयोजित महायज्ञबाट तीन करोड ४८ लाख रुपैयाँ भन्दा बढी रकम बचत भएको थियो ।
गुरुयोजनानुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्छ । विकास कोषको एक्लैको प्रयासले मात्रै सबै काम गर्न सम्भव नरहेकाले यसमा सबैको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठले बताए। विस्तृत परियोजना प्रतिवेदन अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ रुपैयाँ तथा अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २ सय १७ रुपैयाँ लाग्ने अनुमान छ ।
सत्यवती र पराशरपुत्रको मूर्ति निर्माणका लागि ४०–५० टन भन्दा बढी तामा आवश्यक पर्ने अनुमान छ । तामा सङ्कलनका लागि घरदैलो अभियान चलाउने कोषको लक्ष्य रहे पनि कोरोना कहरका कारण उक्त कामसमेत प्रभावित भएको छ ।
महाभारतका रचयिता तथा १८ पुराणका सम्पादक व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीव ७० लाख रुपैयाँ सङ्कलन भएको थियो ।
उक्त रकममध्ये १० लाख रुपैयाँको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ ।
निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै सात करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
व्यासको मूर्ति अड्याउनका लागि तीन तलाको स्तम्भ निर्माण गरिनेछ । सोका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ ।
व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । स्तम्भभित्र सङ्ग्रहालय, पुस्तकालय र सभाकक्ष प्रस्ताव गरिएको छ ।
गुरुयोजनानुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन कक्ष, योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष, व्यास पुस्तकालय, शौचालय, बगैंचाका साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, व्यासका साना २७ मूर्तिहरु, उनका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।
यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ । कृष्ण द्वैपायन व्यासको जन्म दमौलीमा भएको स्थानीय वुद्धिजीवी बताउँछन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया