चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले विद्यार्थीलाई रेडियो कक्षा शुरु गरेको छ ।
लकडाउनका कारण विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेपछि वैकल्पिक शिक्षाका रूपमा नगरपालिकाले रेडियोमार्फत विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।
रत्ननगरका प्रमुख नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा उनले नगरको शैक्षिकस्तर खस्किन नदिन रेडियो कक्षा शुरु गरिएको बताए । मुलुकमा लकडाउन शुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको थियो ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँच इन्टरनेट र सुविधायुक्त मोबाइलमा नहुने भएकाले रेडियो कक्षा शुरु गरिएको उनले बताए।
पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि रेडियो कक्षा शुरु गरिएको हो ।
पहिलो चरणमा कक्षा ८ को नेपाली, अङ्ग्रेजी र सामाजिक विषयको कक्षा शुरु भएको छ ।
पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मूल्याङ्कन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
जिल्लामै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकासँग पनि सहकार्य गर्ने प्रयास भइरहेको वनको भनाइ छ । रत्ननगरमा २९ सामुदायिक र २४ संस्थागत विद्यालय रहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया