रुकुम घटना हत्या नै भएको गृहको छानबिन समितिको निष्कर्ष

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस रूपमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुसन्धान सकेर घटनामा ज्यान गुमाएका सबैको हत्या भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

समितिका एक सदस्यले समितिले घटनाको स्थलगत अनुसन्धानपछि अवस्थाको विश्लेषण गरेर प्रतिवेदनसमेत तयार गरिसकेको र घटनामा परी ज्यान गुमाएका सबैको हत्या नै भएको पाइएको जानकारी दिए । ‘घटनामा ज्यान गुमाएकाहरूको हत्या नै गरेर भेरीमा फालिएको हाम्रो छानबिनले देखाउँछ, अनुसन्धान सकेर प्रतिवेदन तयार गरिसकेका छौं । निष्कर्ष त्यही हो, प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेड भने हामीलाई रहेन,’ समितिका एक सदस्यले भने ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि गत १३ जेठमा गृहमन्त्री रामबहादुर थापाले गृह मत्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?