डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पुर्याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ ।

नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पुर्याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए ।

“डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो ।

डिप बोरिङ निर्माणका लागि नगरपालिकाले ५० लाख रुपैयाँ, वडा नं १० ले ६ लाख ७० हजार रुपैयाँ तथा वडा नं ११ ले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ । सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पुर्याएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?