सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका

चितवन । कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले शुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ सङ्क्रमित राख्न थालेको छ ।

नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात सङ्क्रमित रहेका छन् । शुक्रवार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ ।

माडी क्याम्पसमा १७ शैयाको आइसोलेसन तयारी अवस्थामा छ । तेह्र शैया थप गर्न लागिएको ढकालले जानकारी दिए।

उनीहरुलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सकसहितको स्वास्थ्य टोली त्यहीँ तयारी अवस्थामा राखिएको छ ।

माडीको बघौँडा अस्पतालमा दुई श्ययाको भेन्टिलेटरसहितको सघन उपचारकक्ष निर्माण गर्न लागिएको छ ।

ढकालले भने, “भरतपुरको एक मेडिकल कलेजसँग छलफल भइरहेको छ । केही दिनमै हामी सघन उपचारकक्ष तयार गर्छौँ ।”

सङ्क्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमै राखिने उनको भनाइ छ ।

सघन उपचारकक्ष बनेपछि सबैलाई माडीमा राखिने उनले बताए। नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न शुरु गरेको छ । पहिलो चरणमा २०० पिसीआर किट खरिद गरिएको उनले जानकारी दिए।

किट खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । ढकालका अनुसार रकम अपुग भएमा थप गरिनेछ । उनले थपे, “हामी सङ्क्रमणमुक्त भएको प्रमाण हुने गरी परीक्षण गराएर मात्र घर पठाउँछौँ ।”

नगरपालिकामा स्थापना गरिएका १२ क्वारेन्टिनमध्ये पाँच वटामा मानिस छन् । त्यहाँ २३४ जना रहेका छन् ।

नगरपालिकाको तथ्याङ्कअनुसार भारतमा मात्र दुई हजार ८०० माडीवासी छन् । तेस्रो मुलकमा यो सङ्ख्या एक हजार ४०० रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए । जिल्लामा पहिलोपटक नगरपालिकाले भारतबाट मानिस ल्याएको थियो ।

सङ्क्रमित भरतपुर अस्पताल सारियो

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ ।

कोरोना अस्पतालमा रहेका दुई महिलासहित १७ लाई शनिवार साँझ भरतपुर अस्पताल सारिएको हो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ ।

यसैगरी पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमितलाई सारिएको हो । कोरोना अस्पतालमा हाल पाँच जना रहेका छन् । तिनीहरुमध्ये अधिकांशले १४ दिन पार गरेकाले घर पठाउने तयारी गरिएको छ ।

सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमितलाई सारिएको हो ।

सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिएको छ ।

हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ ।

ती दुई वार्ड र क्याबिनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए। अस्पतालले कोभिड–१९ का लागि १० शैयाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी र्दिए ।

भरतपुर अस्पतालमा रहेका नौमध्ये दुई घर फर्किँदैछन् । त्यहाँ थप १७ जना लगिएको हो । उनीहरुलाई अस्पतालको पछाडिपट्टिबाट छुट्टै बाटो बनाएर सो क्षेत्रलाई सिल गरी व्यवस्थित ढङ्गबाट राखिएको तिवारीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?