कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा एक करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।
नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो ।
तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २१० मिटर तटबन्ध निर्माण भइरहेको बताए । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ ।
तीनवटै वडाका तटबन्धमा दुई हजार ९०० घनमिटर ढुङ्गा र १६७ टन तारजालीको प्रयोग गरिनेछ ।
सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ ।
तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २०० घरघुरी लाभान्वित हुने बताइएको छ ।
कृषियन्त्र र उपकरण हस्तान्तण
शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिवार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ ।
कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौ वटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ ।
मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि रु ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताए ।
सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया