थप एक कोरोना सङ्क्रमितको मृत्यु, राती नै गरियो शव व्यवस्थापन

तम्घास । गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको तम्घास अस्पतालका डा. कविराज भुसालले जानकारी दिए ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए ।

उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ ।

यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।

जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन् ।

अझै विभिन्न क्वारेन्टाइनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एक एक सङ्क्रमित छन् ।

उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । रासस

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना : प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा थपिदै संक्रमित, प्रादेशीक विवरण यस्तो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?