चुनबाङमा बग्यो बसपार्क

रुकुमपूर्व । निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौँको क्षति भएको छ ।

लाखर खोलामा बाढी आउँदा २५ लाख रुपैयाँ देखि ३० लाख रुपैयाँ सम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ ।

बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए।

उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा गुम्टी पसल बगेका छन् ।

लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए ।

स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो ।

यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताए ।

शुक्रवारदेखि परेको वर्षाका कारण शनिवार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?