पर्वत पहिरो अपडेट : तीनको मृत्यु, छ बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिवार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् ।

शनिवार साँझ करिव दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो ।

थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।

शनिवार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ ।

वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?