कर्णालीमा पुगे ९१६ कोरोना संक्रमित, दैलेखमा मात्रै ५०२ जना

एलपी पौडेल / सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय नाघेको छ ।

शनिवार सुर्खेतका ४० जना र दैलेखका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना कोरोना संक्रमित थपिएका हुन् । योसंगै हालसम्म कर्णाली प्रदेशमा जम्मा कोरोना पुष्टि भएको संख्या ९ सय १६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

शनिवार थपिएका ७० जनाको परिक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो ।

मन्त्रालयका अनुसार शनिवार नयाँ संक्रमण पुष्टि हुनेहरू सुर्खेतका ४० जना रहेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगर नगरपालिकाका १ जना रहेका छन् । भने दैलेखका ३० जना संक्रमित थपिएका छन् । दैलेखको आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।

९१ जना निको भएर घर फर्किए

कर्णालीमा हालसम्म ९१ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएसंगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको हो ।

कर्णाली प्रदेशमा हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका ३ जनाको ज्यान गइसकेको छ ।

दैलेखमा मात्रै ५ सय २ संक्रमित

कर्णालीमा हालसम्मको जम्मा ९१६ मध्ये दैलेखमा आधाभन्दा बढि संक्रमित देखिएका छन् । मन्त्रालयका अनुसार दैलेखमा ५०२ जना कोरोना संक्रमित रहेका छन् । सुर्खेतमा १९७ जना, सल्यानमा १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा १ जना, डोल्पामा १ जना र अन्य प्रदेशका बासिन्दाको संख्या १६ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?