बाटो बनाउँदै पैसा बुझ्दै

जाजरकोट । कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ ।

समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिई रोजगारी उपलब्ध गराएको हो ।

गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । काम गरेवापत दैनिक गाउँपालिकाले ५०० रुपैयाँ दिने गरेको छ ।

गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा दुई लाख ४३ हजार रुपैयाँ विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् ।

वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि एक लाख ९६ हजार रुपैयाँमा ५५ जनाले रोजगारी पाएका छन् ।

बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि दुई लाख १४ हजार ५०० रुपैयाँ रकममा ६० युवाले रोजगारी पाएका छन् ।

वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा दुई लाख ७५ हजार रुपैयाँमा ५८ जनाले काम गरिरहेका छन् ।

वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन रु एक लाख ५० हजार रकम विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन् ।

वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको एक लाख ४६ हजार ५०० रुपैयाँमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा एक लाख ७२ रुपैयाँमा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन एक लाख ५० हजार रुपैयाँ विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।

खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि एक लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन पाँच लाख ६५ हजार रुपैयाँ विनियोजन भई १५८ जनाले रोगगारी पाएका छन् ।

वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन चार लाख १८ हजार रुपैयाँ विनियोजन भई ११७ जनाले रोजगारी पाएका छन् ।

मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ । त्यसको लागि तीन लाख ७० हजार रुपैयाँ रकम विनियोजन भएको छ ।

वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न दुई लाख ७९ हजार रुपैयाँ रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन दुई लाख ३० हजार रुपैयाँमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत) ले बताए ।

गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए । क्वारेन्टाइनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?