लमजुङ । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ ।
३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला सहज भएसँगै आयोजनाको काम शुरु भएको हो ।
यतिबेला आयोजनाको ड्यामसाइट र डेनस्टक पाइप लाइनको काम भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।
“चिनियाँ करिब ४० र नेपाली दुई/तीन जना कामदारले काम गरिरहेका छन्, लकडाउनका कारण केही समय रोकिँदा आयोजनाको काम प्रभावित भए पनि अहिले भने धमाधम भइरहेको छ”, उनले भने ।
विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको यस आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार गत चैत्र महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपर्थ्यो । तर, विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माणकार्य लम्बिएको छ ।
हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।
आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् ।
बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४.८० रुपैयाँ र सुक्खायामका लागि ८.४० रुपैयाँमा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया