साठी हजार बिरुवा वितरण

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले आफूले उत्पादन गरेका विभिन्न जातका ६० हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

बन्दाबन्दीका समयमा फुर्सद भएकाले बिरुवा रोप्न सर्वसाधारण आउन थालेपछि तयारी भएका बिरुवा वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।

यस वर्ष दश लाख बिरुवा उत्पादन भएको र तयारी अवस्थाका केही दिनदेखि वितरण गर्न शुरु गरिएको वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।

उनका अनुसार नर्सरीमा बहडर, टाँकी, इपिल इपिल, म्यान्डोला, चाँप, तेजपात, नारेश्वर, निम, रुख कटहर, अम्बालगायत तीस जातभन्दा बढी घाँस तथा फलफूलका बिरुवा उत्पादन गरिएको छ ।

कार्यालयले परिसरको नर्सरीमा दुई लाख २५ हजार बिरुवा उत्पादन गरेको छ । जिल्लामा रहेका पाँच सबडिभिजन कार्यालयले आआफ्नो क्षमतानुरुप बिरुवा उत्पादन गरेको उप्रेतीले जानकारी दिए। गत वर्ष उक्त कार्यालयले छ लाख बिरुवा उत्पादन गरेको थियो ।

कार्यालयका प्रमुख केदार बरालले गत वर्ष वितरित बिरुवाको नमूना सङ्कलन गर्दा चाँप, टिमुर, तेजपात र कागतीका बिरुवा राम्रो भएको बताए ।

प्रशस्त आम्दानी गर्न सकिने भएकाले तेजपात खेतीलाई वन कार्यालयले अझ बढी प्राथमिकता दिएको छ ।

त्यसैगरी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा अम्रिसो खेतीलाई बढावा दिइँदै आएको छ । कार्यालयले बिरुवा वितरण गरिसकेपछि स्थलगत अनुगमनसमेत गर्ने गरेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?