घोराहीमा बढी मूल्यमा मास्क बेच्ने दुई पसलमा छापा, २-२ लाख जरिवाना !

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले दाङमा बजार अनुगमन गर्नुका साथै छापा मारेको छ ।

कोरोनाको महामारीमा स्वास्थ्य सामाग्रीमा चर्को मूल्य गरेको भन्ने सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा जिल्लाका तीन वटा सर्जिकल पसलहरुलाई कारबाही गरिएको हो ।

कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईंले सोमबार घोराहीका दुई वटा सर्जिकल पसललाई २–२ लाख र अर्को एउटालाई २० हजार जरिवाना गरिएको जानकारी दिए।

घोराहिको युनाइटेड साईन्टिफिक एण्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एण्ड सप्लायर्सलाई जनही २–२ लाख जरिवाना गरिएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए । ती दुई सर्जिकल पसलले ५० प्रतिशतसम्म बढी मूल्यमा सर्जिकल मास्कहरु विक्री गरेको पाइएको हुँदा उक्त जरिवाना गरिएको उनले बताए।

‘२० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाइने तर, ती दुई वटा पसलहरुले ५० प्रतिशतसम्म मुनाफा लिएको देखिएको हुँदा अनुगमन गरि कारवाही गर्नु परेको बताए। केहि दिन दाङका बजारहरुको अनुगमन गरिने उनले जानकारी दिए ।

सरकारले कोरोनाको महामारी नियन्त्रण गर्न लकडाउन गरेको समयमा कर तिर्न गरेको ताकेताको बिरोध गरिरहेको बेला अनुगमन समितिले छापा हानेर जरिवाना गरेपछि भित्र भित्रै ब्यबसायीले कोरोनालाई देखाएर खरिद मुल्यभन्दा बढि नाफा खाएर कारोबार गरिरहेको पुष्ट्रि भएको छ । केहि दिन पहिले घोराहीमा ब्यबसायीले कोरोनाको बेला सरकारले कर तिर्न गरेको ताकेताको बिरोधमा रित्तो थाल र चम्चा बजाउदै सडकमा उत्रिएर बिरोध गरेका थिए ।

त्यस्तै घोराहीकै चाहाना सर्जिकल एण्ड सप्लार्यलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त पसलले खरिद बिल देखाउन नसकेको हुँदा जरिवाना गरिएको चौलागाईंले बताए। जरिवाना गरिएका पसलहरुलाई सात दिन भित्र तोकिएको रकम बुझाउनु पर्ने नियम छ। भनेको समयमा तोकिएको जरिवाना नतिरे थप कारवाही तथा पसल सिल गर्ने लगाएका कार्य अगाडि बढाइने उनले चेतावानी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?