कर्णालीमा जलविद्युत् आयोजनाको अध्ययन गरिने

जुम्ला । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । उनले भने, “आयोजना अध्ययनका लागि सङ्घीय सरकारले २९ लाख पाँच हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताउनुभयो । उक्त आयोजना अध्ययनका लागि दुई करोड पाँच लाख आठ हजार रुपैयाँ रकम विनियोजन भएको छ ।

डोल्पाको ५०० मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले पाँच करोड ५८ लाख ८६ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?