रौतहटमा व्यापार व्यवसाय सञ्चालन हुने

काठमाडौं । लकडाउनको कारण व्यापारी र उपभोक्ता दुबै पक्षलाई भइरहेको कठिनाइलाई मध्यनजर गर्दै शुक्रबारदेखि रौतहटका व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ ।

कोभिड–१९ अर्थात को जोखिमका बीच स्थानीय प्रशासनले शुक्रबारदेखि रौतहटका सबैखाले व्यापार व्यवसाय संचालन गर्न निर्णय गरेको हो । तर त्यसका लागि सम्बन्धितले केही सर्त भने पालना गर्नुपर्नेछ ।

बिहीबार जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा सिडिओ बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले औषधि पसल २४ सै घन्टा खुल्न दिने निर्णय गरेको छ भने बैंक तथा वित्तीय संस्था दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैठकमा सहभागी रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले खाद्यान, किराना पसल तथा गैरखाद्यान पसल पनि एक एकदिन बिराएर आलोपालो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्ने निर्णय गरिएको बताए ।

उपरोक्त व्यवसाय सञ्चालन गर्न सर्तहरु अनिवार्य पालना गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ ।

जसअनुसार मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुुन नदिने, कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने, लाइन व्यवस्था गर्ने जिम्मेवारी सञ्चालक तथा सेवा प्रदायक संस्थाको हुने सर्त राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?