तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड रुपैयाँ राजश्व

मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको छ ।

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमवारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख रुपैयाँ सङ्कलन भएको छ ।

गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख रुपैयाँ राजश्व असुली भएको छ । यही जेठमा मात्र १२ करोड ७५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख २७ हजार रुपैयाँको सामान भित्रिएको छ ।

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए। भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाख रुपैयाँको स्वास्थ सामग्री मात्र आयात भएको छ ।

यस्तै यस अवधिमा ११ करोड २० लाख रुपैयाँको स्याउ र लसुन, चार करोड ४४ लाख रुपैयाँको धानको बीउ, ८२ लाख रुपैयाँको कृषि सामग्री र ४९ लाख रपैयाँको एम्बुलेन्स आयात भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?