काठमाडौं । अब अन्य रोगबाट मृत्यु भइ रिपोर्टमा कोरोना पोजेटिभ देखिएपनि मान्य नहुने भएको छ ।
सरकारले अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भइ कोरोना संक्रमण पुष्टि भए पनि त्यसलाई कोरोनाबाट भएको मान्यता नदिने बताएको हो ।
नेपालमा हालसम्म ९ जनाको कोरोनाको कारण ज्यान गएको छ । उनीहरुमध्ये धेरै जनाको मृत्यु पछि मात्र कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्ने गरी उक्त निर्णय गरिएको जनाएको छ ।
कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ। कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन’ ।
नेपालमा आज थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २३ सय पुगेको छ । २ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया