काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न उपलब्ध गराएको छ ।
एनएपीएनले देशभर रहेका सबै एचआईभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यन्न उपलब्ध गराएको हो ।
लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताए । उनले पहिलो चरणमा १२ वर्ष मुनिका ६ सय ६८ बालबालिका र दोस्रो चरणमा १३ वर्ष देखि १८ वर्ष सम्मका ६ सय १७ जना किशोरकिशोरीहरुलाई दुई महिनाको लागि पुग्ने गरी खाद्यान्न तथा पोषण उपलब्ध गराएको बताए ।

ग्लोबल फण्डको क्षेत्रीय सहयोगबाट बालबालिका र किशोरकिशोरीहरुलाई राहत उपलब्ध गराइएको अध्यक्ष दिदीयाले बताए । एनएपीएनले ८ किलो चामल, दुई किलो दाल, दुई किलो गेडागुडी, १५ वटा अन्डा, दुई किलो गहुँको पीठो, एक किलो चिनी, खाने तेल डेढ लिटर र एक लिटर फलफूलको जुस वितरण गरेको हो ।
यस्तै, एनएपीएनले ४५ वर्ष माथिका ७ सय ३२ एचआईभी संक्रमितलाई पनि दुई महिनालाई पुग्ने खाद्यान्न तथा पोषणा उपलब्ध गराएको छ । अहिले देश भर करिब १८ हजार एचआईभी संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया