काठमाडौं । पार्टीबाट अनुमोदन नभइसकेको तथा संसदमा पनि विचाराधीन अवस्थामा रहेको एमसीसीको विषय बजेटमा राखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सहभागीले विरोध गरेका छन् ।
सहभागीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओली र अर्थमन्त्रीले यो संसदबाट पारित हुने भएकाले अन्यथा लिन नहुने बताएका थिए ।
बैठकमा नेताहरुले आर्थिक वर्ष २०७७–७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो कुरा राखिएको जवाफ दिएका थिए । उनले एमसीसीको विषय नीति तथा कार्यक्रममा पनि रहेको र संसदबाट पारित हुने क्रममा रहेको भन्दै बजेटमा राखिएको विषयलाई अन्यथा लिन नहुने बताएका थिए ।
अर्थमन्त्रीको यस्तो बताएलगत्तै उपाध्यक्ष वामदेव गौतम उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बजेट कानुन पनि भएको भन्दै मनपरी निर्णय गरेर अर्थमन्त्रीले पार्टीलाई नै अपमान गरेको आरोप लगाए ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बजेटमा एमसीसी घुसाइएपनि असन्तुष्टि जनाएका थिए । तर इश्वर पोखरेल मौन बसेका थिए ।
यस्तै बैठकमा आमन्त्रित भीम रावलले पनि एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हितअनुरुप नभएको भन्दै यही अवस्थामा बजेटमा घुसाइनु गम्भीर गल्ती भएको बताएका थिए ।
स्रोतका अनुसार बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने विश्वसनीय परराष्ट्र सम्बन्ध र कूटनीतिमा पर्नसक्ने असरको कुरा पुरानो कुरा दोहोर्याउँदै एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए ।
बैठकमा ओलीले एमसीसी संसदमा विचाराधीन अवस्थामा रहेको भन्दै त्यहाँबाट पारित भएमात्रै कार्यान्वयनमा जाने बताए ।
एमसीसी अनुमोदन नभएसम्म कुनैपनि काम अघि नबढाउने समेत बताएका छन् । त्यसका लागि कर्मचारीलाई बोलाएर आवश्यक निर्देशन दिने पनि प्रमले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया