काठमाडौं – परीक्षणको दायरा बढ्दै जाँदा नेपालमा कोरोना संक्रमितको संख्या पनि तिव्र रुपमा बढ्न थालेको छ ।
आज (शनिबार) बिहानसम्म ९ जनामा कोरोना पुष्टि भएको छ । बिहानै थपिएका ६ र ११ : ३० बजेतिर पुष्टि भएका थप तीन जना गरी हालसम्म नेपालमा २ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच प्रदेश नम्बर १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको खबर प्राप्त भएको छ । संक्रमित पत्रकार काठमाडौंबाट संचालन हुने टेलिभिजनका उदयपुर संवाददाता हुन् ।
संक्रमित पत्रकार रिर्पोटिङको क्रममा कोरोनाको हटस्पट बनेको उदयपुरको भुल्के क्षेत्रसम्म पुगेका थिए । वीपी प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको बताइएको छ ।
उनलाई कोरोना अस्पताल विराटनगर ल्याइँदैछ । उनको अवस्था सामान्य छ ।
यसअघि ३१ वैशाख बुधबार धनुषाका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । गत मंगलवार मात्र वीरगञ्जका २ पत्रकारमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म ४ जना पत्रकारमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित २७६ पुगे
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले थपिएका संक्रमितहरु कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषहरु रहेका छन् ।
अहिलेसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकितसकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ मा १०३ जनामा कोरोना संक्रमण

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो ।
थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो । जनकपुरको रमानन्दचोकमा घर भए पनि तत्काल उनी काठमाडौँमा छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ । दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट ट्रेसिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब सङ्कलनकार्य जारी छ ।
यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताए । सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ ।
यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ । सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ ।
यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८१७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ ।
प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९१५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन् । यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराए ।
यो पनि पढ्नुहोस् :
भालुले देखायो समझदारी, तारिफ गरेर कोहि थाकेनन् (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया