कोही छ हाम्रो पीडा सुनिदिने ?

समय : रातको १० बजे
स्थान : कोटेश्वर, काठमाडौँ
काठमाडौं कोटेश्वरको सडकका पोलमा बलेका बत्तिको उज्यालोमा पाईला अघि बढाउँदै थिए,उनीहरु । ७ जनाको समूहमा हिँडेका उनीहरु लकडाउनकै बीचमा काठमाडौंबाट करिब ३ सय ५८ किलोमिटरको बाटो पैदल हिँडेरै तय गर्दैथिए । कोरोनाबाट बच्न अनिवार्य मास्क प्रयोग गरौँ भनेको सन्देश सुनेका उनीहरुको मुखमा पातलो कपडाको मास्क देखिन्थ्यो । झोलामा बोकेको चिउरा र दालमोठ बाटो खाजा । “रातभरी हिड्नुछ, यहि दालमोठ चिउरा फाँको मार्दै कस्सिएर नहिँडे ७ दिनभन्दा बढी लाग्छ । ” उनीहरुको मधुरो आवाज सुनियो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र यसको त्रासदीमा नेपाल अनी नेपालमा पनि ९ जना संक्रमित जसमा १ जना निको भएको बाँकी उपचाररत । र पुरै देश लकडाउनको अवस्थामा । सरकारले दैनिक ज्यालादारी काम गर्ने मजदुर र विपन्न वर्गलाई राहत वितरणको निम्ति विभिन्न प्याकेज ल्याएको छ । राहत वितरणको निम्ति स्थानीय तहसँगको समन्वय हुनुपर्ने हुन्छ ।

देशभर नै स्थानीय तहबाट प्राय क्षेत्रमा राहत वितरणको काम भइरहेको छ । कोरोना त्रासको कारण गाँउभन्दा राजधानी काठमाडौँमा दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारको विजोज देखिएको छ । पहिलो चरणमा एक हप्ता, त्यसपछि अर्को र पछिल्लो समय बैशाख तिन गतेसम्म गर्दा देश ३ हप्ता लकडाउनको अवस्थामा पुगेको छ ।

तेस्रो चरणको लबडाउनपछि भने दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारहरु हिँडेरै भएपनि आफ्नो गृहजिल्ला जान थालेका छन् । विशेषत राजधानी काठमाडौ अनी देशका मुख्य शहर तथा विभिन्न प्रोजेक्टको काम भइरहेको स्थानमा दैनिक ज्यालादारी मजदुर लकडाउनले दैनिकी हातमुख जोड्ने समस्यामा नै परेको देखिन्छ । सरकारले यस्तै समस्या बुझेरै हुनुपर्छ चैत्र २८ र २९ गते काठमाडौबाट बाहिरिन चाहनेलाई दिने भनि निर्णय गर्यो तर निर्णय भएको घण्टा नबित्दै ब्याक भयो ।

लकडाउन खुल्ला र घर फर्कौला भन्ने आशमा बसेका दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारहरु हिडेरै पछिल्लो समय राजधानी काठमाडौ बाहिरिइरहेका छन् । दैनिकजसो कोटेश्वर भक्तपुरबाट काभ्रे हुँदै हिँडेर राजधानी छोड्नेको पछिल्लो समय लर्को नै लागेको छ । लकडाउनको कार्यान्वयन गर्न पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा शसस्त्र प्रहरी बस्ने गरेको छ । तर विपन्न र मजदुरको हकमा लकडाउन पनि नलागेको साँझपख कोटेश्वरको दृश्यले देखाउँछ ।

https://www.facebook.com/lokpath/videos/314584116173133/?t=5

गैर जिम्मेवार जनप्रतिनिधी

सरकारले दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न परिवारलाई स्थानीय तहबाट राहत उपलब्ध गराउने भनेको छ । देशमा विभिन्न भाग तथा भारतबाट समेत धन आर्जन तथा जीविकोपार्जनको निम्ति काठमाडौँ आएका हजाराँै परिवार छन् । काठमाडौँ महानगरले मापदण्ड बनाएरै राहत वितरण गरेको छ ।

एक व्यक्तिमात्र भएको परिवारमा ४ किलो चामल, १ किलो दाल , आधा लिटर तेल , १ किलो नुन , १ किलो आलुप्याज तथा आधा किलो चिउरा सात दिनको लागि दिने भनेको छ । यसैगरी दुईदेखी चार जनासम्म परिवार संख्या भएकाको लागि चामल १२ किलो, दाल २ किलो, तेल आधा लिटर, नुन १ लिटर ३ किलो आलु प्याज तथा २ किलो चिउरा सात दिनको लागि दिने भनिएको छ । यसैगरी पाँच वा सोभन्दा बढी परिवार संख्या भएकाको लागि चामल १६ किलो, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, आलु प्याज ४ तथा ३ किलो चिउरा १ हप्ताको लागि दिने भनिएको छ । तर वडाका जनप्रतिनिधीले समानुपातिक वितरण गर्न नसक्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरु हिँडेरै ४ दिन पाँचदिनसम्म लगाएर आफ्नो गृहजिल्ला फर्कन बाध्य भएका छन् ।

वास्तविक मजदुर तथा विपन्न परिवारले नपाएको कुरा जनप्रतिनिधीहरुलाई भन्ने हो भने उनिहरुको आफ्ने तर्क छ । स्विकृत प्याकेज ३०० परिवारलाई भयो भने माग ७०० परिवारको आउँछ अनी ४०० परिवार त छुट्ने नै भए ।

गत एक हप्ता अघिदेखी राहत वितरण शुरु गरेको काठमाडौ महानगरले पहिला लिएका परिवारलाई नै दोस्रो चरणको राहत दिनुपर्ने हो तर अहिलेसम्म माग अनुसार पहिलो चरणको राहतसमेत सबैलाई दिएको छैन ।

राजधानीमा नै त नागरिक भोकै भएर शहर छोडी गाँउ रातारात हिँड्दै जानुपर्ने बाध्यता छ भने अन्य क्षेत्रको दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने परिवारको अवस्था के होला ?

भोटर्स होइनन् ठिकै छ … ! 

काठमाडौँमा दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवार हातमुख जोड्न नपाएर हिँडेर गाँउ नै फर्कनुपर्ने अवस्थामा पुग्नु भनेको काठमाडौँ महानगर र आसपासका नगपालिकाका जनप्रतिनिधीको स्वार्थको कारणपनि हो । क्षेत्रगत रुपमा सरकारले दिएको जिम्मेवारी भन्दापनि भोली निर्वाचन हँुदा राजधानी बाहिरबाट आएका आश्रित परिवार बिच्कँदा भोटमा कुनै असर नपर्ने हुदा देखावटी राहतमामात्र जनप्रतिनीधि केन्द्रित भएको देखिन्छ ।

नेतृत्वको लाचारी, फिल्डकालाई खै अख्तियारी ? 
लकडाउन शुरु भएका केहीदिमा नै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरी प्रमुख डिआइजीपी विश्वराज पोखरेलले सार्वजनिक रुपमा नै उपत्यकामा कोही भोकै भए सिधा सम्पर्क गर्न अपिल गरे ।

उनले अपिल अनुसार नै विभिन्न बालगृहदेखी, अनाथगृह लगायतमा आफै विभिन्न क्षेत्रसँगको सहकार्यमा खाद्यन्न लिएर पुगे । तर पछिल्लो समय राजधानी काठमाडौँमा नै खान नपाएर पैदल हिँडेर गाँउ जान लागेकाहरुको बारेमा कि त उनको फिल्डको प्रहरीले भनिदिएन कि त अब सकिन्न भन्ने भयो गम्भिर प्रश्न सिर्जना भएको छ ।

देश नै पूर्ण रुपमा लकडाउन भएको अवस्थामा प्रहरीकै अगाडीबाट हिँडेर कोही इटहरी, कोही सर्लाही , कोही सप्तरी गइरहेका छन् र प्रहरी टुलुटुलु हेरेर बसिरहेको हुन्छ ।

यसअघि लोकपथमा प्रकाशित : 

कोरोनाको त्रास : स्वास्थ्य सामाग्री चीनबाट आयात गर्दा करोडौँको खेल ! 

लकडाउन कहिलेसम्म जाला  ?

नेपालमा रहेका कोरोना सङ्क्रमितको अवस्था कस्तो छ  ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?