काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले खेलेको गोप्य र सक्रिय भूमिकापछि बुधबार भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले राष्ट्रपतिको उम्मेदवारी दौड त्यागेका छन् । यससँगै राष्ट्रपतिका लागि डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धा समाप्त भएको छ ।
‘आफ्नो चुनावी अभियानमा दृढ देखिएका स्यान्डर्स र ओबामाबीच धेरैपटक छलफल भएको थियो,’ छलफलबारे जानकार स्रोतले सीएनएनलाई भनेको छ । बुधबार स्यान्डर्सले निर्वाचन नलड्ने निर्णय लिएसँगै जो बाइडेन डेमोक्रेट्रिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने ढोका खुलेको छ, बाइडेन ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए ।
बाइडेनको चुनावी अभियानमा जब ओबामाले औपचारिक सहयोग गर्नेछन् र उनी आक्रामक रुपमा प्रस्तुत हुनेछन्, त्यसपछि डेमोक्रेट्रिक पार्टीको चुनावी अभियान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने दिशातर्फ नयाँ चरणमा पुग्नेछ ।
यसअघि ओबामाले परम्पराअनुसार आफ्नो पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको समर्थन वा विरोध नगर्ने, तर उम्मेदवार तय भइसकेपछि समर्थनमा उत्रने वाचा पनि गरेका थिए ।
स्यान्डर्सले चुनावी दौड छाडेसँगै पूर्व राष्ट्रपति आफ्नो कार्यकालका उपराष्ट्रपतिको समर्थनमा उत्रने तय नै छ, यसलाई ट्रम्पले पनि बुझेका छन् । ‘उनी आउनेछन् । मलाई थाहा छ कुनै विन्दुमा उनी आउनेछन्,’ ट्रम्पले ओबामाबारे भनेका छन्,‘किनकी उनी मलाई थप चार वर्ष राष्ट्रपति भएको हेर्न चाहदैंनन् । हामी दुबै केही फरक तरिकाले सोच्छौं ।’
यसअघि २०१६ मा पनि ओबामा हिलारीको पक्षमा खुलेर देखिएका थिए । यसपटक आन्तरिक प्रतिस्पर्धाका दौरान ओबामा चुप बसे, आन्तरिक चुनाव हुनअघि उनी केही अवसरमा मात्रै बोलेका थिए । तर उनले बहसलाई नजिकबाट नियालिरहोक थिए र उम्मेदवारसँग नियमित संवादमा थिए । उनीहरुको दाबेदारीभन्दा पहिले र पछि पनि । ‘उनको निजी सल्लाहले अन्तिम लक्ष्यमै केन्द्रीत हुनुपर्ने भन्छ – नोभेम्बरमा ह्वाइट हाउस जित्ने ,’ ओबामा निकटको स्रोतले सीएनएनसँग भनेको छ ।
स्रोतका अनुसार डेमोक्रयाट्स उम्मेदवारहरुको आंकाक्षा र क्षमता देखेर ओबामा प्रभावित थिए – झन्डै दुई दर्जन उम्मेदवार आन्तरिक प्रतिस्पर्धामा थिए । ‘तर पूर्व राष्ट्रपतिले उनीहरुसँग दिमागमा मुख्य कुरा राखिराख्नुपर्ने तर्क गरेका थिए । एकपटक आधिकारीक उम्मेदवार पाएपछि हामी पार्टीका रुपमा एक ढिक्का हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया