म्याग्दी । कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि म्याग्दीमा स्वयंसेवी खटाइएको छ ।
जिल्लाको रघुगंगा गाउँपालिकाले माइकबाट कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सूचना प्रवाह गर्न र लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको साथमा स्वयंसेवी खटाइएको हो । सात जनाको समूहमा रहेको स्वयंसेवीको टोली वडाका प्रत्येक घरमा पुगेर सूचना प्रवाह गर्नुका साथै कोरोना भाइरस सम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउने गरेका महिला स्वयंसेविका पुष्पा गर्वुजाले बताइन् ।
पहिलो चरणमा रघुगंगा गाउँपालिका वडा नं १ बाट शुरु गरिएको यो अभियान गाउँपालिकाका ८ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । “आठ वटै वडामा जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटाएर क्वारेन्टाइनदेखि बस्ती बस्तीमा जनतालाई सरकारको निर्णयसंगै कोरोना भाइरसको जोखिम न्यूनीकरणको अभियानलाई सक्रिय बनाउँछौं”, उनले भने । अध्यक्ष भण्डारीले भने, “स्वयंसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ, समुदायमा उहाँहरुले दिएको योगदानको उचित मूल्याङ्कन हुन्छ ।”
अनावश्यक काममा घर बाहिर जाने, भीडभाड र खेलकूदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरुले होम क्वारेन्टाइनमा वस्न आनाकानी गर्ने गरेकाले जनप्रतिनिधिसंगै स्वयंसेवकहरु परिचालन गरिएको उनको भनाइ छ । स्वयंसेवकलाई दैनिक रु ८ सय भत्ता र खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । उत्कृष्ट काम गर्नेलाई सम्मानसमेत गरिने अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिका भित्र हरेक वडामा निर्मित क्वारेन्टाइनमा अहिलेसम्म ११ जना आएका छन् । चैत १ गते यता आएका र क्वारेन्टाइनमा आउन आनकानी गरेकालाई जनप्रतिनिधिले सवारीसाधन लिएर उनीहरुका घरमा नै जाने योजना रहेको समेत अध्यक्ष भण्डारीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया