मृत्यु भएका सबै कोरोना संक्रमित हुँदैनन् : चिकित्सक

काठमाडौं । अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जोसुकैको मृत्यु कोरोनाकै कारण भएको भन्दै अफवाह नफैल्याउन सुझाव दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँगाउँमा कोरोना फैलिएको भन्दै भ्रम सिर्जना नगर्न आग्रह गरे । उनले भने, ‘थुकको छिटाबाट पनि यो सर्छ । बरु सामाजिक दूरी कायम गरेर बस्नुस् तर गाउँगाउँमा फैलिसकेको छैन ।’

मृत्युु भएकामध्येको नमुना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै अन्य रोगका कारण मृत्यु भएकालाई कोरोनासँग नजोड्न आग्रह गरे । दुबईबाट नेपाल आएर बुटवलको कोरोना अस्पतालमा उपचार गराएका एक व्यक्तिको मृत्युलाई पनि कोरोनास्रँग जोडिएको थियो । तर, उनको रिपोर्ट कोरोना नेगेटिभ देखिएको थियो ।

डा. कार्कीले भने, ‘कोरोना संक्रमितहरू ८० प्रतिशतलाई सामान्य सुक्खा खोकी, ज्वरो, अन्य समयमा लागेको रुघाखोकीभन्दा कम खालको बिरामी हुन्छन् र १५ प्रतिशतलाई कडा खालको रुघाखोकी लाग्छ, पाँच प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।’राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?