भट्टेडाँडाको झाँक्रीडाँडामा दुई भारतीयको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं. ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए ।

उनले भने,“ सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए । ”

कोभिड –१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भई रहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ ।

मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो ।

उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?