‘गुरुदेव’ लाई सर्वोच्चमा सधैं झमेला

काठमाडौं, २२ माघ- उमेरले उनी ९१ वर्ष पुगे । कानुन व्यवसायीका सबैभन्दा पुराना गुरु रहेका कारण उनलाई अदालतमा सबैले ‘गुरुदेव’ भनेर चिन्छन् । उनको ‘नेपाल ल फर्म’ मा कानुन व्यवसाय सिकेका दर्जनौं व्यक्ति न्यायाधीश र चार जना त प्रधानन्यायाधीश नै भइसकेका छन् । उनी यो उमेरमा पनि लट्ठी टेकेर मुद्दाको बहस गर्न अझैसम्म सर्वोच्च अदालतमा पुग्छन् । सबैले ‘गुरुदेव’ भनेर आदर गर्ने उनै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रहरीले नचिनेर सर्वोच्चमा बारम्बार झमेलामा पार्छन्, अन्नपूर्ण पोस्टमा खबर छ सधैझैं आइतबार पनि भण्डारी सर्वोच्च अदालतको इजलास नम्बर ६ मा बहसका लागि लट्ठी टेकेर जाँदै गर्दा प्रहरीले रोक्यो । उनी दौरा–सुरुवालमा कालो कोट र ढाका टोपी पहिरिएर इजलास जाँदै थिए । न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आइतबार उनको मुद्दा थियो । जग्गाको ‘जालसाजी’ र ‘लिखत दर्ता बदर’ विवादमा उनी एउटा पक्षका वकिल हुन् । तर पुरानो भवनको पहिलो तलामा रहेको इजलास नपुग्दै प्रहरीले भर्‍याङमै रोक्यो । उनीसँगैका कालोकोटधारी कानुन व्यवसायी भने बेरोकतोक सरासर भर्‍याङ चढेर इजलास पुगे प्रहरीले रोकेपछि भण्डारीले यत्तिका वर्ष वकालत गरेको ‘बूढो मान्छे’ लाई रोक्न खोज्ने भन्दै एकैछिन तात्तिए । हुन पनि भण्डारीले यो उमेरमा आइपुग्दा झन्डै ६५ वर्ष वकालत गरिसकेका छन् । एकैछिनको रोकावटपछि भण्डारी ६ नम्बर इजलास पुगे । त्यहाँ अरु मुद्दामा सुनुवाइ चलिरहेको थियो । भण्डारीले प्रहरी झमेलाप्रति आक्रोशित हुँदै इजलासमा पुगेर ‘ श्रीमान्’ को ध्यानाकर्षण गराए । मुद्दाको सुनुवाइ एकैछिन रोकियो । भण्डारीले भने, ‘ श्रीमान् तपाईंका मान्छे (प्रहरी) ले म बूढोलाई भर्‍याङमै रोके । सधैं रोकेर हैरानी गर्छन् । यसतर्फ ध्यान जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?