स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा

स्याङ्जा । लकडाउन जारी भएको चौथो दिन शुक्रवारसम्ममा स्याङ्जामा ३६६ जना क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लाका ११ वटै पालिकाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा ३६६ जना बसेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

स्याङ्जामा होम क्वारेन्टाईनमा ३४०, विभिन्न स्थानीय पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा २५ र सेल्फ क्वारेन्टाइनमा एक कूल ३६६ जना क्वारेन्टाइनमा बसेका प्रनाउ भण्डारीले बताए ।

जिल्लाका स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेहरुको खोजी कार्यलाई तीव्र पारिएसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनहुँ थपिँदै गएको प्रनाउ भण्डारीले बताए ।

“लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्न सचेतनास्वरुप माईकिङसमेत गरिएको छ”, प्रनाउ भण्डारीले भने, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौंँ ।”

यसैबीच स्याङ्जाबाट परीक्षणका लागि पठाइएको स्वाबको दुई नमूना कोरोना नभएको पुष्टि भएको छ ।

कतार एयरमा फर्किएकामध्ये स्याङ्जाको फेदीखोलाका एक युवकसहित उनकी पत्नीको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएकामा कोरोना नभएको पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

“कतार एयरमा आएका युवाको श्रीमतीलाई समेत ज्वरो आएपछि दुवैको स्वाब परीक्षणका लागि पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ”, प्रजिअ कुरुम्बाङले भने।

कतार एयरमा आएकी १९ वर्षीया युवतीमा कोरोना सङ्क्रमण प्रमाणित भएसँगै उक्त जहाजमा यात्रामा रहेका छ जना सम्पर्कमा आई क्वारेन्टाइनमा बसेका उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?