शिक्षिकाले बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएपछि…

नयाँ दिल्ली, २० माघ । भारतीय प्रहरीहरूले १३ जना विद्यार्थीहरुलाई मैनबत्तीको लप्कामाथि हात राख्न लगाउने एक प्रधानाध्यापिकाविरुद्ध उजुरी दर्ता गरेको छ । विद्यार्थीलाई प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ वर्षका ती विद्यार्थीमध्ये कसले कक्षाको अर्को सहपाठीबाट पैसा चोरेको थियो भनेर पत्ता लगाउने प्रयासस्वरुप यस्तो दण्ड दिएकी हुन् । भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयमा बुधवार यो घटना भएको थियो । त्यसको भोलिपल्टै विद्यार्थीका अभिभावकले गुनासो गरेपछि उनलाई निलम्बन गरिएको थियो । प्रहरीले ती शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान भनेर त्यसरी दण्ड दिएको पाइएको बताएको छ । तर सबै विद्यार्थीहरुले शिक्षिकाले भनेजस्तै गरे र जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राखे । उनीहरुमध्ये केहिले तत्कालै आफ्नो हात हटाएको भएपनि ७ जनाको हात जलेर घाउ लागेको छ । एक विद्यार्थीलाई दबाब दिएर उनले मैनबत्तीमाथि हात राख्न लगाएपछि नराम्रोसँग पोलेपछि अस्पताल भर्ना गर्नुपरेको थियो । प्रहरीले ती प्रधानाध्यापिकाले आफ्नो गल्ती स्वीकार गरेको जनाएको छ । उनले आफूबाट ‘ठूलो भुल’ भएको स्वीकार गर्दै विद्यार्थी तथा उनीहरूका अभिभावकसँग माफी मागेकी थिइन् । भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?