प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको ९ औँ दिन : स्वास्थ्यमा सुधार, पत्नी राधिकाले भेटिन्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिन बितेको छ । आज नवौँ दिन पत्नी राधिका शाक्यले उनलाई भेटेकी छन्।  शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा पुगेर पत्‍नी शाक्यले प्रधानमन्त्रीसँग भेट गरेकी हुन्।

यसैबीच अस्पतालले विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

‘अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ आज नवौं दिन, उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको छ । उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको छ। परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेका छन्। अस्पतालले उनका भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहारा लिइरहेको जनाएको छ।

उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि उनलाई मृगौला दान दिने उनकी भान्जी समीक्षा संग्रौलाले बुधबार भेट गरेकी थिइन्।

दोस्रो भिजिटरका रुपमा राधिकाले प्रधानमन्त्रीसँग भेट गरेको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत जानकारी दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति’, रिमालले ट्विटरमा लेखेका छन्, ‘दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो।’

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्णा खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘सबै स्वास्थ्य सुचक सामान्य छन्’, उनले भने, ‘मिडियामा सार्वजनिक भएजस्तो प्रधानमन्त्रीलाई केही संक्रमण छैन।’

फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।

पहिलो पटक मिर्गौला प्रत्यारोपणा भएको १२ वर्षपछि प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको हो।

मिर्गौला दाता समीक्षाको बुधबार डिस्चार्ज भए पनि प्रधानमन्त्रीको अस्पताल बसाइ भने लम्बिएको छ। उनलाई पहिलेकै अवस्थामा आउन ६ महिनासम्म लाग्ने बताइएको छ । तर निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि व्यवस्थापकीय तयारी पूरा भएपछि मात्र उनको डिस्चार्ज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?