कमल थापाको बाटोमा रवीन्द्र मिश्रको साझा पार्टी

काठमाडौं । बीबीसीको जागिर छाडेर राजनीतिमा आएका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी राजनीतिक भविष्यमाथि प्रश्न खडा हुनसक्ने टिकाटिप्पणी हुन थालेको छ । भ्रष्टाचार विरोधी कल्याणकारी साझा पार्टी पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको ४ खम्बामा उभिएर राजनीति गर्ने दावा गर्दै आएको सो पार्टी धर्मनिरपेक्षता र संघीयताको पक्षमा प्रष्ट नभएपछि टिकाटिप्पणी सुरु भएको हो ।
लोकतान्त्रिक पार्टी भनिएपनि कतिपयले मिश्रको राजावादी पृष्ठभूमिका कारण उनी त्यसकै वकालतमा क्रियाशिल हुने त होइन भन्दै प्रश्न गर्दै आएका थिए । यसबारे उनले पटकपटक प्रष्ट पार्दै आफूहरु राजनीतिक शुद्धीकरण अभियानमा लागेको र गणतन्त्रकै पक्षमा रहेको बताउँदै आएका थिए ।
तर साझा पार्टी लुम्बिनीमा सम्पन्न ‘साझा राष्ट्रिय भेला’ले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको माग गरेको छ ।
शनिबार १४ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै साझाले ‘धर्मनिरपेक्षता र सङ्घीयता’बारे आगामी दिनमा जनमत सङ्ग्रहको पक्षमा उभिने जनाएको हो ।

‘जनमत सङ्ग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति हो। त्यसैले देशको दूरगामी भविष्यमा असर पार्ने विषयहरूमा सुसंस्कृत लोकतन्त्र भएका देशहरूमा जनमत संग्रह गर्ने गरिन्छ,’ घोषणापत्रमा भनिएको छ, ‘जनमत सङ्ग्रहको निर्णय पार्टीको नेतृत्व, महाधिवेशन तथा आवधिक निर्वाचनले दिने निर्णयभन्दा धेरै शक्तिशाली र परिवर्तनकारी मानिन्छ। नेपालको हकमा बढ्दो रूपमा विवादित बन्दै गएको र दिर्घकालसम्म देशलाई असर गर्ने दुई विषय ‘धर्मनिरपेक्षता र सङ्घीयता’बारे अब उप्रान्त हामी जनमत सङ्ग्रहको पक्षमा उभिनेछौँ।’

सङ्घीय र प्रदेश तहमा सांसदका नाममा छुट्ट्याइँदै आएको बजेट खारेज गर्न र त्यसबाट बचेको अर्बौँ रकम गुणस्तरीय सार्वजनिक शिक्षाका लागि उपयोग गर्न दबाब दिने घोषणापत्रमा उल्लेख छ ।
रवीन्द्र मिश्रले यस्तै माग यसअघि राजावादी पार्टी त्यसमा पनि कमल थापा नेतृत्वको राप्रपाले गर्दै आएको छ । नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र त्यसमा पनि राजतन्त्र चाहिने वकालत गर्दै आएको राप्रपाले यीसहित संघीयताको सवालमा पनि जनमत संग्रहको माग गर्दै आएको छ ।
यसरी रवीन्द्र मिश्रपनि कमल थापाकै लाइनमा आइपुगेको भन्दै सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ । गएको चुनावमा राम्रो छाप छाडेको साझा पार्टीको अबको भविष्य के हुने हो त्यो भनिहाल्न सकिने अवस्था छैन । तर उनले राजनीतिक यात्राका क्रममा नयाँ बहस भने अघि सारेका छन् ।
रवीन्द्रको यसखालको प्रस्तावको राजावादीहरुले भने स्वागत गरेका छन् । धर्म निरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने साझा पार्टीको निर्णय स्वागतयोग्य रहेको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति ४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले बिगत १० बर्षदेखि उठाउँदै आएको छ। अब राजा सहितको लोकतन्त्रको पक्षमा पनि उभिएर नयाँ ध्रुवीकरण गरौं, सँगै यात्रा गरौं’, उनले भने । उनले यसरी अघि बढ्दा तेश्रो शक्तिको उदय उने पनि दावी गरेका छन् ।
यता नेकपा र काँग्रेस समर्थकले भने रवीन्द्र पनि पश्चगमनतर्फ फर्किएको टिप्प्णी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?