काठमाडौं । चितवन, महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१० बाईपासमा ना.६ ख १४७५ नम्बरको ट्रक र ना.३१ प ४५८५ नम्बरको स्कुटर शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-३ धारापानी बस्ने २० वर्षीय सोबित घर्तीमगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तीमगरको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका-३ स्थित सडकमा पनि टायरगाडाको ठक्करबाट गम्भीर घाइते भएकी रौतहट विश्रामपुर नगरपालिका-१ बस्ने ६५ वर्षीया परेखनी देवीलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको छ । फरार गाडा र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित जय चोकमा ना.८ ख ६७ नम्बरको रोकी राखेको ट्रकलाई प्रदेश नम्बर १-०२-००१ ख ८०९१ नम्बरको ट्रकले शनिबार बिहान ठक्कर दिँदा ना. ८ ख ६७ नम्बरको ट्रक चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने २८ वर्षीय अजय अधिकारी र सहचालक ३० वर्षीय अंकित जिएमको मृत्यु भएको छ ।
दुर्घटनामा ट्रक चालक अजयको घटनास्थलमै तथा गम्भीर घाइते भएका सहचालक अंकितको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने प्रदेश नम्बर १-०२-००१ ख ८०९१ नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया