काठमाडौँ । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ?
अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङलाई भने नेपाली उत्पादक वस्तुमा नै मोह रहेको बताउनुहुन्छ । नेपाली मौलिक कटन वा सुतीका भोटा, चौबन्दी र सुरुवाल जाडोका लागि मात्र नभएर गर्मीमा पनि उत्तिकै उपयोगी हुने जानकारी दिनुभयो ।
लैङ्गिक, राजनीति तथा संस्कृतिबारे छोटो अध्ययनका क्रममा फिनल्यान्ड अध्ययन गर्न पुग्नुभएका गुरुङलाई एक परियोजना ‘फिनिस बेबी बक्स’ बारे बताइयो । यस अन्तर्गत भर्खरै सुत्केरी भएका आमालाई शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र शिशुका लागि केही जोर लुगा दिइनेरहेछ । दोस्रो विश्वयुद्धपछि प्रचलनमा आएको त्यो बेबी बक्साले फिनल्यान्डेली आमा र नवजात शिशुमा अत्यन्त राम्रो प्रभाव परको उहाँलाई थाहा भयो ।
अध्ययन पूरा भएपछि नेपाल फर्कनुभएका गुरुङले त्यो बाक्सामा के–के सामान हुने रहेछन् विस्तृतमा हेर्न मन लाग्यो । हेलसिन्कीका साथीलाई सम्पर्क गरेर उहाँले एउटा बक्सा मगाउनुभयो । आम नेपाली जस्तै गुरुङलाई पनि लागेको थियो, युरोपको ‘विकसित’ मुलुकमा नवजात शिशु र आमाका लागि तयार गरिएका सामान अत्यन्तै वैज्ञानिक होलान्, जुन उहाँले देख्नुभएको थिएन ।
त्यो बक्सामा राखिएको एउटा गन्जी त ठ्याक्कै हामीले सानैमा लगाएको भोटो जस्तै रहेछ ।
फिनल्यान्डबाट आयातीत भोटो देखेपछि गुरुङले ‘फिनिस बेबी बक्सा’को नक्कल गर्नुपर्दैन, बरु नेपाली मौलिक कपडाको व्यवसाय सुरु गरे हुन्छ भन्ने सोचाइ आयो ।
त्यसपछि उहाँ विगत एक वर्षदेखि नेपाली समाजमा पुस्तौँदेखि चलिआएको शैलीमा भोटो र दौरासुरुवाल सिलाउँदै र बेच्दै हुनुहुन्छ । यस्तै शिशुको लागि तोरिको तकियापनि उपयोगी हुने खबर गोरखापत्रमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया