ललितपुरमा प्रहरी मेस-‘सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्वीर हो’

काठमाडौं । ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रुपमा खाना खाने साझा मेसको शुरु भएको छ । यसअघि देशका अन्य प्रहरी कार्यालयमा जस्तै तहगत भान्साको प्रचलन रहेकामा त्यसमा सुधार गरिएको हो । सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको सातौं मेस रहेको बताइएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरीका सबै दर्जाबीच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो । दिनमा हजारौँ जनताको समस्या सुन्ने जवानको मानसिकता परिवर्तन गर्न संयुक्त मेसले निकै सहयोग गर्नेछ । ” सबै प्रहरीमा सकारात्मक भावना बढाउन संयुक्त मेसले निकै सहयोग गर्ने पोखरेलको भनाइ थियो ।

यसैगरी कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोलीका प्रमुख कार्यकारी अधिकृत पवन भट्टराईले ललितपुर सबैभन्दा बढी इञ्जिनियरिङ कलेज भएको जिल्ला रहँदा प्रहरीले यहाँको दुव्र्यसनी नियन्त्रण गर्न सफल भएको बताए । उक्त कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेवापत प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायब निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङ्रिन र प्रहरी जवान हीरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो ।

जनताको सुख दुःखको सारथी भएको कारण सडकमा देखिने प्रहरी सरकारको पहिलो तस्वीर भएकाले संवेदनशिल हुन पोखरेलले निर्देशन दिएका छन् ।

डिआईजी पोखरेले प्रहरीमा आउने हरेक किसिमका नागरिकहरुको भावनाको कदर गर्न प्रहरी सक्षम हुनुपर्ने र राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलसाथ कानून कार्यानवयनमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?