काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा संकटा क्लबले फराकिलो जित हात पारेको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले सरस्वती युथ क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।
सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरेका थिए । खेलको पहिलो हाफमै संकटाले ३-० को अग्रता बनाएको थियो ।
खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३७ औं मिनेटमा सुवासले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप पाँच गोल निस्कियो । खेलको ५६ औं मिनेटमा टिकाले गोल गर्दै संकटालाई ४-० को अग्रता दिलाए । ६५ औं मिनेटमा सरस्वतीका पुर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गर्दा संकटा ५-० को बन्यो ।
खेलको ६६ औं मिनेटमा सरस्वतीका बुसारीले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा बुसारीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल खेल ५-२ को बनाए । तर, खेलको ८३ औं मिनेटमा रोशनले गोल गर्दै संकटालाई ६-२ को जित दिलाए ।
संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै बी डिभिजनमा झरेको छ । सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया