ए डिभिजन लिगमा आशिष सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा

काठमाडौं । एपीएफका फरवार्ड आशिष लामा सहिद स्मारक ए डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

लिगको १२ औं चरण अन्तर्गत सोमबार फ्रेन्ड्स क्लबविरुद्ध दुई गोल गरेसँगै आशिष सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सविरुद्ध ५-२ गोल अन्तरको जित निकाल्दा आशिषले पहिलो हाफमा दुई गोल गरेका थिए । यससँगै आशिषले जारी लिगमा आफ्नो गोल संख्या ८ पु-याउन सफल भएका छन् ।

आशिषले च्यासल युथ क्लबका सन्तोष साहुखललाई १ गोलले पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् । सन्तोष ७ गोल गरेर दोस्रो स्थानमा रहेका छन् । यस्तै त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ ६ गोलसहित तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?