खत्रक्पा र फुलुङगीलाई विकास गर्न माङसेबुङ-फक्तालुङ मोेटरबाटोले सहयोग गर्छ : मन्त्री नेम्बाङ

इलाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगीलाई विकास गर्न माङसेबुङ–फक्तालुङ मोेटरबाटोले ठूलो सहयोग गर्ने बताएका छन् ।

बुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको पर्व कक्फेवा तङनाम माघेसक्राती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उनले त्यस्तो बताएका हुन् ।

यस क्षेत्रको चौतर्फी विकासकालागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको कामसमेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिए । उनले यो क्षेत्र धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमासमेत विकास गरिने बताएका छन् ।

मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेकासकेत बताए । उनले भने ‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि यहि हो ।’ उनले थपे ‘वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि पनि यहि हो ।’

उनले राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानव हितका लागि उपयोग गर्नु पर्ने धारण राखे ।

नेम्बाङले विश्व शान्ति र मानव एकताको कामना गर्दै २ लाख १७ हजार २ सय १६ बत्ती प्रज्वलन गरेका थिए । मन्त्री नेम्बाङले बुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मीटर लामो पक्की पुलको समेत निरीक्षण गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?