नेकपा स्थायी समितिको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को स्थायी समितिको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदनमा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिएपछि उक्त प्रतिवेद पारित गर्दै बैठक सकिएको हो ।

प्रतिवेदनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धका विषयमा सामान्य परिमार्जन गरिएको छ । बैठकबाट महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पारित गरिएको छ। विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी पारित गरिएको छ ।

बैठकले पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको समेत गरेको छ । आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक पनि बोलाउने निर्णय समेत गरेको छ ।

नेकपाले अमेरिकाको बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) उसकै सैन्य रणनीति इन्डोप्यासिफिक अन्तर्गतको भए नभएको निर्णय लिने जिम्मा पार्टी सचिवालयलाई दिएको छ ।

एमसीसीलाई इन्डो प्यासिफिकको अंग नभएको अमेरिकाले पुष्टि गरेमा यसको पक्षमा जाने शर्तसहित पार्टीको धारणा बनाउने जिम्मा सचिवालयलाई प्रदान गरिएको छ ।

बैठकले अन्य प्रस्ताव पनि पारित गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना, लिम्पियाधुरा लिपुलेक लगायतका भारतले सीमा मिचेका क्षेत्र नेपालका भएको स्पष्ट पार्दै यसबारे भारतसँग कुटनीतिक तवरमा वार्ता गर्न आग्रह गर्ने ।

त्यस्तै सीमा क्षेत्रमा नेपालले गर्न लागेका सडक तथा बाँधको निर्माणमा भारतीय पक्षले रोकेको विषयमा पनि सरकारलाई समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरिएको हो ।

सडक दुर्घटनाले धेरैको ज्यान गुमाएकाले सडक संवेदनशीलता अपनाउन र मृतकका परिवारलाई राहत दिन पनि सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?